प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनबीच भेटवार्ता भएको छ।
चारदिने औपचारिक भ्रमणमा बिहीबार नेपाल आएका फ्लिनले प्रधामनन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन्। भ्रमण तालिकाअनुसार उनी भोलि सगरमाथाको आधार शिविर पुग्नेछन्। आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्।
त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। त्यसपछि उनलाई शिवपुरी लगिने छ। शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्बोधन गर्ने छन्। उनी आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।