लोकतन्त्र बलियो बनाउन स्थानीय तहका जनप्रतिनिधिले इमानदारीपूर्वक काम गर्नुपर्छ : शेखर कोइराला

10.4k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा लोकतन्त्र बलियो बनाउन स्थानीय तहका जनप्रतिनिधिले इमानदारीपूर्वक काम गर्नुपर्ने बताएका छन् । 

कृष्णप्रसाद कोइराला सेवा गुठीद्वारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निक सिस्बनी जहदाले १३ औं शैलजा आचार्य स्मृति दिवसको अवसरमा आइतबार आयोजना गरेको स्मृतिसभामा उनले समावेशिता, सुशासन, जवाफदेहिता, उत्तरदायित्व र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि स्थानीय तहका जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा मुलुकभरि कांग्रेसले बढी जित्यो तर यस्तै प्रवृत्तिको निर्वाचनमा अघि बढ्यौं भने मुलुक संकटमा फस्ने निश्चित छ,’ उनले भने, ‘बेथितिपूर्ण महँगो चुनावले राजनीतिक मूल्य, मायन्ता, विचार, संस्कार स्खलित भएर जान्छ ।’ अहिले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार हराउँदै गएको प्रति कोइरालाले चिन्ता व्यक्त गरे ।

निडर, आफ्नो कुरा नलुकाई भन्न सक्ने, आफ्नो नैतिकता, इमानदारीताको सिद्धान्तबाट जस्तोसुकै परिस्थितिमा विचलित नभई अन्याय र अत्याचारविरुद्ध लड्दै अघि बढ्ने शैलजा आचार्यको स्वभाव अहिलेका बालिका, किशोरी, युवती तथा महिलामा निर्माण गर्न सकिए मात्रै समाज परिवर्तन हुने उनको भनाइ थियो ।

सोही अवसरमा पोलिटेक्निक सिस्बनी जहदाले आइतबार कान्तिपुर पब्लिकेसन्स लिमिटेडलाई सम्मानित गरेको छ । कान्तिपुरकर्मी देवनारायण साहलाई कांग्रेस नेता कोइरालाले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार