प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले बुझाएको २२ बुँदे ज्ञापनपत्रमा आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठन गर्नुपर्ने उल्लेख छ।
विदेशमा रहेका नेपाली नागरिकलाई समेत निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने राप्रपाको माग छ। उसले मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउनु पर्नेमा जोड दिएको छ।
केन्द्र र स्थानीय तहको बलियो सरकार कायम राखी प्रदेश तह खारेज गर्नुपर्ने राप्रपाको माग छ। ज्ञापनपत्रमा धर्मनिरपेक्षता र गणतन्त्रको समेत विरोध गरिएको छ।