काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी कार्यान्वयनको सम्झौता प्रधामन्त्री देउवाले नगरेको बरु ओली सरकारकै पालामा सन् २०१९ मा सम्झौता भएको दाबी गरेका छन् ।
बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा रितबहादुर खड्का स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा दाहालले भने, ‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको छ । यो बिल्कुल झुटो हो । प्रधानमन्त्रीसँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । कुनै सैन्य सम्झौता हुने छैन । यो घोषणा गर्न चाहन्छु । बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो हामी सबैले बुझ्न जरुरी छ ।’