काठमाडौं । गरुडा स्थित तुलसीलाल स्मृति सभा भवनमा भएको अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली एमालेको आरोप लगाउनुभएको छ ।
नेता नेपालले पार्टीप्रति बफादार र इमानदार नेता कार्यकर्तालाई कारबाहीको डर देखाउँदै पार्टीभित्र हैकम चलाएको आरोप लगाए । पार्टीले महिलालाई सम्मान गरेको बताउँदै नेता नेपालले देशमा प्रधानमन्त्री बाहेक सबैजसो उच्च पदमा महिलाले सम्मान पाएको बताए ।
एमाले नेता नेपालले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता पदमा महिला पुगिसकेको बताउँदै नेपाली महिला सक्षम बन्दै गएको तर अझ पनि धेरै काम गर्न बाँकी रहेको बताए । पार्टीको आन्तरिक विषयलाई जोड्दै एमाले नेता नेपालले पार्टीलाई नियम र प्रक्रिया तथा वधिअनुसार नचलाई नियम र अनुशासनको निरन्तर उल्लंघन गरेको आरोप पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि लगाए ।
नेता नेपालले भने, पार्टीले गरेको निर्णय नै नमान्ने, पार्टीको बैठक नै नबोलाउने र पार्टीमा आफूलाई मात्र सर्वोच्च ठान्ने प्रवृत्ति पार्टी अध्यक्षमा रहेकोले पार्टीमा गडबडी उत्पन्न भएको उनले बताए ।
पार्टी अध्यक्ष ओली प्रधानमन्त्रीको पदमा रहेकोले मात्र उनले पार्टीमा हैकम चलाउन सकेको बताउँदै नेता नेपालले शासनको बागडोर हातबाट फुत्केपछि उनीसमक्ष कोही पनि नेता कार्यकर्ता टिक्न नसक्ने बताएका छन् ।