संघीय संसदअन्तर्गत आज दुवै सदनका बैठक बस्दै छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । राष्ट्रियसभाको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि भएको मन्त्रालयगत छलफलका क्रमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०७९/ ०८० को बजेट पारित भइसकेको छ । राष्ट्रियसभाबाट पारित हुन बाँकी छ ।

यस्तै, प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ ।
लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यस्तै, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।