नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन्।
सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे। मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए।
उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारीको खाडल भर्न अब लाग्ने बेला भएको बताए।
उनले भने, ‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ। मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ। कर्मचारीको बारेमा त के भनौँ र रु तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ।‘
मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिबद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभई सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताए।
उनले मन्त्रीहरुले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अफ्ठ्यारो रहेको बताए।