काठमाडौंः प्रतिनिधिसभाको आज बसेको बैठकले माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका चार जना सांसद्को पद खारेज गर्दैछ । नेपालको राजनीतिक इतिहासमा सम्भवतः यो नै पहिलो घटना होला, जो राजनीतिक दलको सिफारिसमा पद रिक्त हुने भएको छ ।
२०७४ मा भएको संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । सोही बमोजिम कैलालीबाट निर्वाचित माओवादी केन्द्रका सांसद्धय लेखराज भट्ट र गौरीशंकर चौधरीको पद आजैबाट रिक्त हुने भएको छ । यस्तै रौतहटबाट निर्वाचित प्रभु साह र अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझीसमेत आजबाट भूतपूर्व हुनेछन् ।
यी चारैजनाले पछिल्लो अवस्थामा नेकपा माओवादी त्यागेर केपी ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरु ओलीको विवादित फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकमार्फत केन्द्रीय सदस्य नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले उनीहरुलाई संकटका बेला साथ दिएको भन्दै आकर्षक मन्त्रालय दिएर पुरस्कृत गरेका छन् ।
आजबाट भने उनीहरुको सांसद् पद गुमेपनि ६ महिना मन्त्री भने रहन सक्ने छन् । संविधानले सांसद् नभएका जो कोहीलाई प्रधानमन्त्रीले उपप्रधानमन्त्री ,मन्त्री , राज्य मन्त्री वा सहायक मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ । तर त्यस्ता व्यक्ति ६ महिना भित्र संघीय संसद्को दुुई मध्ये कुनै एकको सदस्य भने भैसक्नुपर्ने व्यवस्था रहेको छ ।
यी चारैजनालाई माओवादी केन्द्रले माउ पार्टीमा फर्कन आह्वान गरेको भएपनि उनीहरुले मानेका थिएनन् । त्यसैले राजनीतिक दलसम्बन्धी ऐन बमोजिम सम्बन्धित दलले सभामुख वा अध्यक्षलाई सूचना दिएपछि रिक्त गरी नयाँ निर्वाचनका लागि निर्वाचन आयोगमा लेख्नुपर्ने व्यवस्था रहेको छ । आजको प्रतिनिधिसभाले उक्त काम गर्ने छ । तर राष्ट्रिय सभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई हटाउनका लागि भने माओवादीले पत्राचार गरेको छैन ।