सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का मन्त्री हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्री हेरफेर गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्री हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।
जसपाका तर्फबाट मृगेन्द्रकुमार सिंह यादव, महम्मद इस्तियाक राई र प्रदीप यादव सरकारमा सहभागी भएका छन् । मृगेन्द्रले कृषि तथा पशुपन्छी विकास, राईले भौतिक पूर्वाधार तथा यातायात र प्रदीपले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको हो । उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाएको छ । यसअघि सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने यथावत छन् । तीन मन्त्री फिर्ता बोलाए पनि उनलाई परिवर्तन गरिएको छैन ।
जसपाबाट फेरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो ४ बजेको लागि तय भएको छ । राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको सोमबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको हो ।

