सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सारिएको छ । आज बिहान ११ बजेदेखि सुरु हुनुपर्ने बैठक स्थगित गरिएको हो ।
आज स्थगित गरी बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको केन्द्रीय सदस्य पेशल खतिवडाले जानकारी दिए ।
गएको आइतबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा माओवादीको बैठक जारी छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि सोमबार केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । त्यसक्रममा उठेका प्रश्नको आज प्रचण्डले जवाफ दिने कार्यसूची थियो ।
यही बैठकबाट पदाधिकारी चयन गर्नका लागि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दबाब दिइरहेका छन् । पदाधिकारी चयनका विषयमा आज नेताहरू अनौपचारिक छलफलमा जुट्ने भएकाले बैठक भोलिका लागि सारिएको बताइएको छ ।