सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले अर्थ मन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माबारे उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।
आज बसेको पूर्व स्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निणर्य गरेको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् । ‘अर्थ मन्त्रालयका विषयमा उठेका विषयमा जानकारी गराउनु पर्यो नि १ एमालेसँग छलफल गर्ने कुरा भएको छ’, उनले भने । अर्थमन्त्री शर्माले बजेटमा करको दर बढाउन बाहिरी व्यक्ति संलग्न गराएको भन्दै विरोध हुँदै आएको छ ।
बैठकमा अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्माले आफ्ना कुरा राखेका थिए । उनले आफू निर्दोष भएको दाबी गरेका थिए । ‘उहाँले बाहिर आए जस्तो होइन भन्नु भयो । उहाँले आफू निर्दोष रहेको बताउनु भयो,’ गजुरेलले भने ।
अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।