राजतन्त्रको एजेण्डा छाडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएका छन्।
पार्टीको महाधिवेशनमा आफूलाई दरबारले चलखेल गरी हराएको भन्दै आक्रोशित भएका थापाले अब राजतन्त्रको एजेण्डा नबोक्ने घोषणा गरेका थिए। राप्रपामा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले अहिले पुरानै नामको पार्टी राप्रपा नेपाल ब्यूँताएका छन्।
थापाले लामो समय राजतन्त्रका लागि संघर्ष गरेपनि राजसंस्थाले आफूविरुद्ध गम्भीर चलखेल गरेको आरोप महाधिवेशन लगत्तै लगाएका थिए।
पूर्वराजा ज्ञानेन्द्र आज ७६ औं जन्मोत्सव मनाइरहेका छन्। उनीसँग असन्तुष्ट रहे पनि थापाले पूर्वराजा शाहलाई ‘राजा’ नै सम्बोधन गर्दै सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएका छन्।
शाहलाई पुष्पगुच्छा दिएको तस्वीर राख्दै थापाले सामाजिक संजालमा लेखेका छन्, ‘७६ औं शुभजन्मोत्सवको सुखद अवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य, सुख र शान्तिको हार्दिक मंगलमय शुभकामना।’