काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।
पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको १४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताए । पौडेलका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा पदाधिकारी बैठकले तय गर्नेछ । पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको यो बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान छ ।
गत २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए । यद्यपि छलफलले ठोस निष्कर्ष निकाल्न सकेको थिएन। सो बैठकमा भएका छलफलका विषयमा पदाधिकारीलाई जानकारी गराइने र आगामी रणनीतिका विषयमा परामर्शसमेत हुने बताइएको छ ।