प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नराम्रा कामहरुको थुप्रो मात्र भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रम बोल्दै ओलीले भने, ‘अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन अबिलम्ब हट्नु पर्दछ । लाज नभएका व्यक्तिहरु त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिंडिरहेका छन् ।’ वर्तमान सरकारले राम्रो एउटा पनि काम नगरेको र नराम्रो मात्रै गरेको उनले आरोप लगाए ।
‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको देखाओस् त?’ उनले भने, ‘नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि नमिल्ने यो सरकार अबिलम्ब हट्नु पर्दछ ।’ सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउन सक्ने ओलीले चेतावनी दिए । अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्ध नगरेको बताएका छन् । छविलाल कार्कीको स्मृति दिवसको कार्यक्रममा उनले कसैको स्वार्थमा जनतामाथि खेलवाड भएको आरोप लगाए ।
‘जनयुद्धको नाममा माओवादीले जुन हिंसा गर्यो, त्यो कुनै जनयुद्ध थिएन् । निहित स्वार्थका लागि केही व्यक्तिहरुको स्वार्थका लागि कसैको इशारामा, कतैको योजनामा नेपाली जनतामा खेलवाड गर्ने हिसाबले नेपालमा ल्याएर लागु गर्न खोजिएको थियो ।’
उनले भने, ‘वृहत शान्ति सम्झौता भएर हतियारको प्रयोग छोडें भनेपछि र लडाकुहरुको व्यवस्थापन क्यान्टोनमेन्टमा गएर गरिसकेपछि अमानवीय ढंगले कमरेड छविलाल कार्कीको हत्या भएको हामी सबैलाई थाहा छ ।’ उनले मान्छे मार्न बाहेक अर्को उद्देश्य नभएको समेत आरोप लगाए । संगठित हतियारका रुपमा नागरिकमाथि सत्ता टिकाउनका लागि हत्या भइरहेको पनि उनले बताए ।