शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक बस्दै

13.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको पहिलो बैठक बस्दै छ । मंगलबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने बैठकमा समितिको कार्यविधि र सभापति चयन गर्ने कार्यसूची रहेको छ ।

समिति स्रोतका अनुसार लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्ने बैठकले सुरुमा समितिको कार्यविधि पारित गर्नेछ । कार्यविधिको खाका तयार पारिएको र त्यसमाथि छलफल भएपछि त्यसलाई पारित गर्ने र सभापति चयन गर्ने आजको बैठकको तयारी छ । त्यस्तै, समितिको आचारसंहिताका बारेमा पनि समितिमा छलफल गर्ने कार्यसूची रहेको छ ।

तत्कालीन अर्थमन्त्री शर्मालाई जेठ १४ मा आगामी आर्थिक वर्षको बजेटका करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ । त्यो घटनामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । असार २२ गते गठित समितिमा ११ सदस्य रहेका छन् ।

समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सचिवमा संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याल तोकिएका छन् ।

प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार