जसपाको पदाधिकारी बैठक आज बस्यो

10.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं।  जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक आज बस्ने भएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि नेताहरू बैठकस्थल पुगेका छैनन्। पार्टीका नेता केशव झाले केही समयमै बैठक बस्ने जानकारी दिए।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकले नयाँ सत्ता समीकरणका विषयमा नेपाली काँग्रेसले राखेको प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने तयारी छ। छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी हुने ठाकुरको सचिवालयले जानकारी दिएको छ।

गत शुक्रवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धन बनाउने र काँग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका थिए। देउवाले उक्त प्रस्तावमा समर्थन खोजेका छन्। माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने बताएको थियो। सोही एजेण्डालगायत विषयमा छलफल गर्न आज जसपाको पदाधिकारी बैठक बस्न लागेको छ।

नयाँ सत्ता समीकरणको लागि काँग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ। ओलीको बहिर्गमन र नयाँ सरकार निर्माणमा कुन पक्षलाई साथ दिएर जाने भन्ने विषयमा शुक्रवार पनि जसपाका ६ जना नेता महाराजगञ्जमा रहेको एक नेताको घरमा छलफलमा बसेका थिए।

छलफलमा ओलीको बहिर्गमन नै पहिलो एजेन्डा बनाएर जानुपर्ने कुरामा ६ नेताहरुबीचमा सैद्धान्तिक सहमति जुटेको बताइएको थियो। यता आइतबार दिउँसो नेपाली काँग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ। आज बस्ने बैठकबाट सरकारबारे निर्णय गर्ने काँग्रेस र जसपाको तयारी छ।

ताजा अपडेट
सम्बन्धित समाचार