नामबारे छलफल गर्न प्रदेश–१ का सभामुखले डाके सर्वदलीय बैठक

7.7k Shares

प्रदेश–१ को नामको विषयमा छलफल गर्न प्रदेश सभामुखले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाका संसदीय दललाई पत्राचार गरी साउन ६ गते शुक्रबार सर्वदलीय बैठक राखिएको जनाएका छन् ।

बैठकमा नामाकरणको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । दलहरुबीच साझा सहमति गराउने प्रयास स्वरुप छलफल आह्वान गरिएको जनाइएको छ ।

नामको विषयमा दलहरुबीच एकमत छैन । भौगोलिक र जातीय पहिचानको विषयमा राजनीतिक दलले आ–आफ्नो अडान राखेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन । सहमति नभए सरकार प्रकृयामा लगेर नामबारे छलफल गराउने तयारीमा छ ।

यसैबीच, बजेट पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक साउन ८ गते बस्ने भएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार