मधेस प्रदेश सरकारले आउँदो निर्वाचनभन्दा अघि नै प्रहरी समायोजन गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
मधेस प्रदेश सरकारका प्रतिनिधिहरू काठमाडौं पुगेर आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासित भेटी यस्तो आग्रह गरेका हुन् । उनीहरूले त्यससम्बन्धी पत्र प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई पनि त्यसका लागि पहल गरिदिन आग्रह गरेको छ ।
“संवैधानि तथा कानुनी व्यवस्थाको आधारमा अगामी निर्वाचनअगावै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न तथा जिल्ला प्रशासन कार्यालय प्रदेश मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिई पहल गरिदिनुहुन सादर अनुरोध छ,” प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ ।
यसअघि, गएको असार २३ गते अन्तरप्रदेश बैठकले साउनभित्र प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो । मधेसमा भएको उक्त बैठकमा कर्णालीबाहेक सबै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले सातबुँदे साझा घोषणापत्र जारी गर्दै प्रदेशको अधिकारका लागि संघर्ष गर्ने निष्कर्ष निकालेका थिए ।
काठमाडौं उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षाको जिम्मा संघले लिने गरी आएको प्रस्तावित प्रहरी ऐन संशोधनको कार्य संविधानको अनुसूची ६ विपरीत रहेको प्रदेश सरकारको निष्कर्ष छ । नेपालको संविधान जारी भएको सात वर्ष पूरा हुन लागे पनि संघीयताका आधारभूत संरचनाहरू क्रियाशील हुन नसकेको उनीहरूले निचोड निकालेका थिए ।