राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
साेमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगीकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन्।
उनले सो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताए। नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भएपनि कतिपय प्रावधानहरु सच्याउनुपर्नेमा उनले जोड दिए।
‘हाम्रो देशमा वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनु पर्छ। सच्याउनु भनेर भनेको उनले नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया शुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण–पत्र लिएर आउनुपर्छ’ उनले भने, ‘मैले त्यो प्रक्रिया शुरु गरेको छु भनेर भन्ने मात्रै होइन, उनले प्रक्रिया शुरु गरोस्। त्यो प्रक्रिया शुरु भएको कागजपत्र लिएर आएपछि उनले पाउनुपर्छ । यो नेपाली जनताको विशेष अवस्था हो। आधा भन्दा धेरै जनसंख्या बसेको तराईको समस्या हो। यो समस्या समाधान गर्नका निम्ति अहिले सरकारले जे व्यवस्था गरेको छ, ठिक गरेको छ। यसमा केही–केही सच्याउनुपर्ने विषय छ। त्यो सच्याउने काम गरोस्।’