लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई संसदीय चुनाव घोषणा हुनुअघि नै सरकारमा भित्र्याउने प्रधानमन्त्रीको तयारी रहेको । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदो मंसिरमा तोक्ने सरकारको तयारी छ । त्यसअघि नै लोसपालाई पनि सरकारमा भित्र्याउने कसरतमा सत्ता गठबन्धन नै लागेको बताइएको छ ।
हालै मात्र सरकारले संसदबाट नागरिकता ऐनमाथि पहिलो संशोधन प्रस्ताव पारित गराएपछि लोसपा सरकारमा जान इचछुक देखिएको छ । लोसपालाई सरकारमा भित्र्याएर चुनावी गठबन्धनलाई अझ बलियो बनाउने सत्ता गठबन्धनका नेताहरुको रणनीति समेत रहेको बुझिन्छ ।
चुनाव घोषणाअघि नै सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनिसकेको लोसपा अध्यक्ष महन्थ ठाकुर निकट स्रोत बताउँछ । स्रोतका अनुसार लोसपाले उठाउँदै आएको प्रमुख मुद्दा नै नागरिकता विधेयक रहेको र त्यो संसदबाट पारित भइसकेकोले सरकारमा जान सकारात्मक देखिएको हो । सम्भवतः एकदुइ दिनभित्रै लोसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम समेत तय हुनेछ ।