मधेश सरकारले प्रहरी समायोजन गर्न केन्द्र सरकारलाई एक साताको समय दिने र त्यो अवधिमा पनि समायोजन नभए संघर्षमा उत्रिने चेतावनी दिएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले आज पत्रकार सम्मेलन गरी साउन २२ गते प्रदेश प्रमुखमार्फत् केन्द्र सरकारलाई ज्ञापनपत्र पठाएर प्रहरी समायोजनका लागि एक साताको ‘अल्टिमेटम’ दिने बताए ।
प्रदेशका सबै राजनीतिक दल, प्रदेश सभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुख मार्फत् नेपाल सरकारलाई ज्ञापन पत्र पठाउने बताउँदै उनले भने, ‘ज्ञापन मार्फत् हामी ७ दिनको समय दिन्छौं, त्यसपछि पनि चासो नदिइए चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउँछौं ।’
सातै प्रदेशका गृहमन्त्रीले सामूहिक रुपमा आग्रह गरे पनि र मधेश प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा पुगेर छुट्टै आग्रह गर्दा पनि सरकारले यसतर्फ ध्यान नदिएको साहले बताए । केन्द्र सरकारले प्रदेशको अधिकार खोस्ने, अपव्याख्या गर्ने र पछिल्लो समयमा आश्वासन मात्रै दिने काम गरेको उनले बताए ।
गृह मन्त्रालयले नेपाल सरकारले निर्देशन दिएमा ७ दिनभित्र समायोजन टुंगिने बताइरहँदा पनि संघीय सरकार यसप्रति अनिच्छुक देखिएको उनले बताए ।