काठमाण्डौं : संसदीय विशेष समितिमा बहुमतको आडमा अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको एमालेले आरोप लगाएको छ ।
रामेछापमा जिल्ला स्तरिय प्रशिक्षणमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन विशेष समितिमा एमालेले असहमति जनाउँदै आएको बताएका हुन् ।
संसदीय छानबिन समितिका सदस्य समेत रहेका ज्ञवालीले भने,‘छानविनको दायरामा रहेका व्यक्तिहरुको कल डिटेल र मोबाइल लोकेसन हेरौं भन्दा सत्ता पक्षीय सदस्य मान्नु भएन।
बजेट निर्माण प्रक्रियामा संलग्न कर्मचारीहरुको भूमिकासहितको विवरण उपलब्ध भएन । यसले छानबिन कार्य गम्भीर रूपमा प्रभावित भएको छ। त्यसैले हामीले फरक मत राखेका छौं।’ छानबीनको क्रममा अर्थ मन्त्रालयका अधिकारीबाट पनि पर्याप्त सहयोग नपाएको ज्ञवालीले बताए।
ज्ञवालीले आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेकोसमेत धारणा राखे। उनले देशको अर्थतन्त्र अहिले इतिहासकै कमजोर बिन्दुमा पुगेको बताउँदै देशको वार्षिक बजेटभन्दा बढी व्यापार घाटा रहेकोमा चिन्ता व्यक्त गरे।