काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचारविरुद्ध देशभर विरोध प्रर्दशन गरेको छ। काठमाडौँ उपत्यका र देशैभर भ्रष्टाचारको विरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको हो।
पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ। राप्रपाले गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
आफ्ना माग पूरा गराउन राप्रपा यतिबेला दोस्रो चरणको संघर्षमा होमिएको छ। यसअघि राप्रपाले असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्ष गरेको थियो।
साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा छ।
हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठनलगायत महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
सोही माग पूरा गराउन दबाबमूलक कार्यक्रम जारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।