पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत : झलनाथ खनाल

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइवान भ्रमण गरेपछि असन्तुष्टि व्यक्त गर्दै खनालले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्।

जनवादी गणतन्त्र चीनको गम्भीर विरोधका बाबजुद  सभामुख न्यान्सी अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार ताइवान पुगेकी थिइन्।

विज्ञप्ती जारी गर्दै खनालले ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएको कारण न्यान्सीको भ्रमण एक चीन सिद्धान्त विपरित भएको बताए।

‘चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै सबै देशहरूले ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएका छन्। यस्तो अवस्थामा न्यान्सी पेलोसीको भ्रमण एक चीन सिद्धान्तविपरीत हो। त्यसैले,  यसले ताइवान स्ट्रेट वरपर तनाव सिर्जना गरेको छ। ’ खनालले विज्ञप्तीमा लेखेका छन्।

ताइवान क्षेत्र र सम्पूर्ण एसिया क्षेत्रमा शान्ति खलल पार्ने कुनै पनि गतिविधिको आफ्नो पार्टीले विरोध गर्ने बताए। ‘ ताइवानको सवालमा चीनले लिएको वैधानिक र शान्तिपूर्ण अडानलाई हामी समर्थन गर्छौं। कुनै पनि देशलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन्।’

उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि उल्लेख गरेका छन्। एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर,  मलेसिया हुँदै ताइवानको राजधानी ताइपेइ पुगेकी थिइन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार