प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री खनालबीच भेटवार्ता , के -के भयो कुराकानी ?

11.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्। उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्नेमा जोड दिए।

नेता खनालले भने, ‘गठबन्धनमा दलहरू जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ। तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ। २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ। कसैले अपमान फिल गरेमा ऊ तालमेलमा आउँदैन ।

सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ। बाम एकताको लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुचि मैले देखिनँ। बृहत वाम एकताको सम्भावना अहिले छैन।’

उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको बताए। बेलाबेलामा नेपाल-चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा  आफू विश्वस्त रहेको नेता खनालको भनाइ छ।

पूर्वप्रधानमन्त्री खनालले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसाबले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको भन्दै त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न्को लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको पनि बताए।

ताजा अपडेट
सम्बन्धित समाचार