लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले मौसमअनुसार अधिकार प्रयोग गरेको बताएका छन्।
लोसपा वरिष्ठ नेता महतोले राष्ट्रपतिले पहिले आफ्नो अधिकार अनुसार अध्यादेश अनुमोदन गरेको र अहिले नागरिकता विधेयक फिर्तामा पनि आफ्नो अधिकार प्रयोग गरेको बताए। तर एकपटक ठिक भएको प्रावधान अर्को पटक कसरी बेठिक भयो भनेर जनतालाई जवाफ दिनुपर्ने उनको भनाइ छ।
'संविधानले दिएको अधिकार राष्ट्रपतिले हिजो कसरी प्रयोग गर्नुभयो, आज कसरी गर्नुभयो? मौसमअनुसार अधिकारको प्रयोग हुन्छ? त्यो त भएन नि,' उनले भने, 'किन हिजो सदर गर्नुभयो? आज फिर्ता गर्नुभयो? यसको जवाफ जनतालाई चाहिन्छ। हिजो केपी ओली नेतृत्वको सरकारले जे प्रावधान राखेको थियो, आज त्यही हुबहु हो। एमाले आफैंले जारी गरेको अध्यादेशमा किन विरोध गर्यो?’
दलहरूले रङ फेर्न सक्ने तर जनताले त्यसको जनताले मूल्यांकन गर्ने भन्दै महतोले राष्ट्रपतिले रङ फेर्न नमिल्ने बताए।
‘हिजो कुन ढंगले पढियो? कि पढ्दै पढिएन? अथवा आधा मात्रै पढियो?उही कुरा एमालेको सरकारले अध्यादेशाक रूपमा ल्याउँदा राष्ट्रपतिबाट पारित भएर अनुमोदन भएको थियो। त्यही कुरा सार्वभौम संसदले पास गर्दा अस्वीकृत हुनेरु यो त ठूलो प्रश्न जन्मियो नि,'
एउटै व्यवस्था कुनै बेला राष्ट्रवादी र कुनै बेला राष्ट्रघाती कसरी भयो भनेर समेत महतोले प्रश्न गरेका छन्। यस्ता विषयमा निर्णय गरेर मात्र नहुने भन्दै उनले जनतालाई जवाफ समेत दिनुपर्ने बताए।