काठमाडौं । नेकपा एमालेका ‘निलम्बित’ नेता माधवकुमार नेपालसहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने तयारीमा भएका छन् ।
नेपाल समूहका एक नेताका अनुसार स्पष्टीकरणको जवाफ छलफलमा तयार भइसकेको छ । उनले भने, " १२ बजे २४ घण्टा पुग्छ, हामी सकेसम्म आजै प्रतिउत्तर दिने तयारीमा छौं।"
पार्टी केन्द्रीय कमिटीको निर्णयअनुरूप नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई दुई दिनभित्र पुनः स्पष्टीकरण पेस गर्न समयसीमा दिइएको थियो। अध्यक्ष केपी ओलीले अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका छन्। चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने र कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका छन्। नेता नेपाललाई पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ। सोही विषयमा छलफल गर्न मंगलबार अर्याल होटेलमा नेपाल पक्षीय सांसदहरुको बैठक बसेको थियो । बैठकले स्पष्टीकरण बुझाउने र अन्तिमसम्म पार्टी एकताकै निम्ति सङ्घर्ष गर्ने निचोड निकालेका थिए।