काठमाडौंः नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ निर्वाचन लक्षित अभियानका लागि खटाउने केन्द्रीय प्रतिनिधि नाम तय गरेको छ । यही भदौ १० गतेबाट सुरु हुने अभियानमा कांग्रेसले ७५ जिल्लामा पठाउने प्रतिनिधिको टुंगो लगाएको हो ।
डोल्पा र मुगुमा खटाउने केन्द्रीय प्रतिनिधिको नाम तय भइनसकेको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ । कांग्रेसले वर्तमान र पूर्वपदाधिकारी बाहेकलाई मात्र प्रतिनिधिका रुपमा खटाउने भएको छ । तर कांग्रेसले यसपटक मन्त्री र मुख्यमन्त्रीलाई पनि प्रतिनिधिका रुपमा जिल्ला–जिल्ला खटाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलाई मोरङ खटाइएको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुस्ताङ पठाएको छ । कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई मकवानपुर खटाएको छ ।
कांग्रेसले भदौ १० देखि बीपी जयन्तीसम्म पहिलो चरणको अभियान गर्ने छ भने समानुपातिक उम्मेदवारी दर्ता भएपछि दोस्रो चरणमा थाल्ने छ । यस्तै प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि तेस्रो चरणको अभियान थालिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइ छ ।
अभियानका क्रममा राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने महतले बताए । उनका अनुसार कांग्रेस केन्द्रीय प्रतिनिधिलाई एक हप्तासम्म जिल्लाका कार्यक्रमा सहभागी हुन निर्देशन दिएको छ ।

