काठमाडौं । सोमबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।
सोमबार बस्न लागेको बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने जनाएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको छ। महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ। त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ।