काठमाडौं: काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घरको सीमा पर्खालको नक्सा पास गर्न पनि भनेको छ। नक्साविनै बनाइएका सीमा पर्खाल (कम्पाउन्ड वाल) ३५ दिनभित्र भत्काउन पनि महानगरले आग्रह गरेको छ।
घरधनीले सीमा पर्खाल नभत्काए महानगरले भत्काइदिने पनि चेतावनी दिएको छ। जुनसुकै प्रकृतिको घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पेश गरी प्रचलित कानूनअनुसार नक्सा पास भएपछि मात्र त्यस्तो सीमा पर्खाल लगाउन महानगरले आग्रह गरेको छ।
महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।
मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ । कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।
सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।

त्यस्तै, नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ। बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न’ अनुरोध गरेको हो।
काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन एने, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ।
‘अतः काठमाडौं महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न सम्बद्ध सबै ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भइ जाने ब्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ।’
