काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार बालुवाटारमा बोलाएको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामीले स्थितिको समीक्षा गरिरहेका छौं ।’
कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी माओवादीसँग मिलेर एमालेकै नेता नेपाललगायतका सांसदले फ्लोर क्रस गर्ने योजना बनाइरहेको सूचना बालुवाटारमा निरन्तर रूपमा पुगिरहेको छ। नेपाल, झलनाथ खनाललगायतका नेताले कांग्रेस र माओवादी नेताहरूसँग निरन्तर रूपमा छलफल गरिरहेका छन्।
कांग्रेस आँट गरेर अघि बढ्ने हो भने आफूहरू फ्लोर क्रस गरेर पनि साथ दिन तयार रहेको सन्देश उनीहरूले दिइरहेका छन्। खनाल–नेपाल समूहले दिएको ढाडसबारे थाहा पाएपछि सकेसम्म अविश्वास प्रस्ताव आउनुअगावै ओलीले फ्लोर क्रस गर्न सक्ने सांसदलाई हटाउने योजना बनाएका छन्।