काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा आह्वान गरेका छन्। सोमबार मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसको अवसरमा एक वक्तव्य जारी गरेर नेता नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न आग्रह गरेका हुन्।
उनले नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारीको मुलुक र कम्युनिस्ट आन्दोलनमा योगदान अतुलनीय भएको बताए। अधिकारीले नौ महिना सरकारको नेतृत्व गर्दा अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा उनीप्रतिको श्रद्धा कहिल्यै नमेटिने नेता नेपालको भनाई छ।
‘मनमोहन स्मृति दिवसको अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
अहिले कम्युनिस्ट सरकारले विकृति र विसंगतिलाई प्रश्रय दिने काम गरिरहेको आरोप नेता नेपालको छ। जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति र विसंगतीहरुलाई प्रशय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झन् धेरै खड्किएको बताए।