के छ चार पूर्व प्रधानन्यायाधीशहरूले महाभियोग समितिसमक्ष पठाएको पत्रमा ?

11k Shares

काठमाडौंः चार पूर्वप्रधानन्यायाधीशहरूले महाभियुक्त चोलेन्द्र शमशेर राणाले लगाएका आरोप अस्वीकार गर्दै महाभियोग समितिसमक्ष बिहीबार उपस्थित हुन नसक्ने पत्र पठाएका छन् । पूर्व प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पत्र पठाउँदै महाभियोग लागेको व्यक्तिको भनाइ सम्पूर्ण रुपमा अस्वीकार गर्दै महाभियुुक्तले प्रमाणित गर्न नसकेमा त्यसको परिणाम भोग्न लगाउन समितिले सामथ्र्य देखाओस् भन्ने उल्लेख गरेका हुन् ।

पत्रमा महाभियुक्त राणालाई अनगिन्ती प्रश्न उठाइएको छ । ‘महाभियुक्तले हामीमध्ये कसले, कहिले, कुन अमुक विषयमा महाभियुक्तलाई प्रभावित गर्न प्रयास गरेको हो, त्यस्तो सम्पर्क व्यक्तिगत वा के तहबाट भएको हो ?  त्यो कहिले र कसरी भएको हो रु त्यसको यथार्थता पुष्टि हुने प्रमाण के हो ?  त्यस्तो अमुक विषयमा के कस्तो नतिजा निक्लन गएको छ ? ’ पत्रमा उल्लेख छ ।

‘आरोपित अमुक कुरा गर्ने व्यक्ति, विषय, समय सन्दर्भ र अभिलेख केही पनि सिफारिस समितिले मागेको र सो बमोजिमको सबुत प्रमाण निजले दिएको भन्ने कतै पनि देखिन नआएको हुँदा कसैउपर पनि झूट्टा, भ्रामक, कपोलकल्पित, गोश्वारा, बेप्रमाणित, अप्रासंगिक र अमूर्त ढंगले आरोप लगाउँदैमा पुग्दैन’ पत्रमा भनिएको छ, ‘आरोप लगाउनेले बुझ्न सक्ने गरी अमुक व्यक्तिले अमुक विषयमा अमुक समयमा अमुक कुरा अनुचित ढंगले हासिल गर्न खोजेको वा हासिल गरेको भन्ने कुरा शंकारहित तवरले सिद्ध गर्नुपर्ने हुन्छ ।’

महाभियोग लागेका व्यक्तिले जे भने पनि हुने त्यसको सिद्ध गर्न भने नपर्ने भन्ने हुँदैन भन्ने उल्लेख गर्दै पत्रमा लेखिएको छ, ‘तसर्थ हामीहरूले संयुक्त वा व्यक्तिगत रुपमा कुनै गैर कानूनी लाभ लिने उद्देश्यले कुनै अमुक विषयमा कहिल्यै, कुनै दिन, कुनै प्रत्यक्ष भेट वा अन्य माध्यमबाट समेत निजलाई प्रभावित गरेको वा गर्न उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न खुलेआम चुनौती दिन चाहन्छौं ।’

ताजा अपडेट
सम्बन्धित समाचार