प्रधानमन्त्री देउवालाई कसले दियो उम्मेदवारीविरुद्ध उजुरी ?

8.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारीविरुद्ध परेको उजुरीबारे जवाफ दिन आज दिउँसो २ बजेसम्मको समय दिइएको छ ।

नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेपछि देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा सोमबार उजुरी परेको थियो।

डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस ९बिपी०का उम्मेदवार कर्ण मल्लले उनको नामांकन जन्ममितिमा एउटा र मतदाता नामावलीमा अर्को भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा विसं २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा विसं २००२ जेठ ३१ गते उल्लेख गरिएको छ। डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरीउपर स्पष्ट पार्न आज दिउँसो २ बजेसम्मको समय दिइएको छ।

सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार