काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रभु साहको भूमिकाप्रति पार्टी नेतृत्व नै जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।
नेता साहले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी पार्टीले जसपासँग तालमेल गरेकोमा असन्तुष्ट भएका हुन्। त्यस विषयमा अध्यक्ष ओलीको प्रतिक्रियाप्रति लक्षित गर्दै नेता रावलले खरो टिप्पणी गरेका हुन्।
‘प्रभु साहको विद्रोहबारे निज पहिलेदेखि सन्दिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। रावलले ट्वीटरमा लेखेका छन्, ‘सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
ओलीले हालै एक टेलिभिजन अन्तरवार्ताका क्रममा साहका सन्दिग्ध गतिविधिबारे पार्टीमा पहिले नै जानकारी रहेको बताएका थिए । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेता साहलाई हरियो सर्पको संज्ञासमेत दिएका थिए। रावलले यसै विषयमा प्रश्न उठाएका हुन्।