ओखलढुंगा। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओखलढुंगामा समानान्तर कमिटी घोषणा गरेको छ। शुक्रबार सदरमुकाममा आयोजित नेपाल पक्षको विस्तारित बैठकले कमिटी घोषणा गरेको हो।
कमिटीको अध्यक्षमा नेत्रप्रसाद भट्टराई, उपाध्यक्षमा मणिराज राई र मेखबहादुर खड्का, सचिव हर्कबोल राई, उपसचिवहरू अर्जुन धमला, बलबहादुर परियार, नरेन्द्र श्रेष्ठ, मावर सुनुवार, किसन राईलगायत छन्। एमालेभित्रको आन्तरिक विवादपछि माधव नेपाल पक्षले देशभर समानान्तर गतिविधि गरिरहेको छ।
ओखलढुंगामा यसअघि कुनै गतिविधि नगरेको नेपाल पक्षले जिल्ला कमिटी घोषणासँगै योजनाबद्ध संगठन विस्तारसहितका योजना अघि सारेको छ। विस्तारित जिल्ला कमिटी बैठक तथा समानान्तर कमिटी घोषणा सभालाई एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारलगायतका नेताले सम्बोधन गरेका थिए।
वक्ताहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै ओली नेतृत्वको एमालेका गतिविधिको विरोध जनाएका थिए। कोरोनाको महामारी चलिरहेका वेला ओखलढुंगामा भने दलगत गतिविधि रोकिएका छैनन्।





