काठमाडौं। नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ। आइतबार दिउँसो १२ बजेलाई बोलाइएको बैठक ढिला गरी केही बेर मात्रै बसेर सकिएको थियो। बैठक सकिए लगत्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।
बैठकमा अध्यक्ष ओलीले लुम्बिनी प्रदेशमा विकसित घटनाबारे ब्रिफिङ गरेका थिए। अविश्वासको प्रस्ताव पेस भएपछि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। त्यसै सिलसिलामा अध्यक्ष ओलीले बैठकमा ब्रिफिङ गरेको स्थायी सदस्य सुवास नेम्वाङले जानकारी दिए। ‘लुम्बिनी प्रदेशमा यसो-यसो भइरहेको छ भनेर अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ बैठकपछि नेम्वाङले भने।
यस विषयमा थप विवरण भने खुलाउन एमाले नेताहरूले चाहेनन्। त्यस्तै बैठकमा कोभिड-१९ नियन्त्रणका विषयमा छलफल भएको छ। कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको नेता नेम्वाङले जानकारी दिए। उनले भने, ‘बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गर्यो। आफ्नो पार्टी पङ्क्तिलाई पनि अझ बढी क्रियाशील भएर कोरोना नियन्त्रण अभियानमा संलग्न हुन आह्वान गरेको छ।’
बालुवाटारमै बसेको वैशाख १० गतेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको थियो। स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरू रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरिएको थिएन।
स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल रहेका छन्।