मंसिर ४ को निर्वाचन राष्ट्र हार्ने कि जित्नेको महासंग्राम भएको ओलीको भनाई

9.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचन राष्ट्र हार्ने कि जित्नेको महासंग्राम भएको बताएका छन्। बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै उनले मंसिर ४ को निर्वाचन अवसर भएकाले एमालेलाई एकल बहुमत दिलाउन आह्वान गरेका हुन्। 


उनले अहिलेको सरकार परमादेशबाट निर्माण भएको बताउँदै प्रतिगामीहरुले नै अहिले एमालेलाई प्रतिगामीको आरोप लगाएको बताए। उनले निर्वाचनपश्चात पनि एमालेबाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताए। ओलीले एमालेबाहेक अर्को शक्तिमा आयो भने देश दुर्भाग्यतिर जाने टिप्पणी गरे।

उनले एमालेको घोषणा पत्रमा विगतमा के गर्‍यो र अब के गर्छौं भन्ने ग्यारेन्टीसहितको दस्ताबेज भएको बताए। ओलीले एमालेले आफ्नो नेतृत्वमा सरकार गठनपछि २० वटा ग्यारेन्टीसहितको चुनावी घोषणापत्र ल्याएको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा आइसकेकाले एमालेको सरकार आएपछि गुमेको भूमि फिर्ता लिने स्पष्ट पारे। उनले एमालेका उम्मेदवारले ग्यारेन्टी लिएर जनतामाझमा जान सक्ने बताए।  काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारको प्रशंसा गर्दै उनले भने,‘किरण, देश बनाउन सम्पूर्ण रुपमा लाग्ने एक सशक्त युवा हो। भ्रष्टाचार गर्दैन, देशको हितमा काम गर्छ, विदेशी सामु झुक्दैन।’

उनले एमालेले सार्वभौम सत्ता र स्वाधिनताको रक्षाको लागि, शान्ति स्थायित्व दिन विजयी हुनुपर्ने धारणा राखे। उनले गठबन्धनले सन्धि सम्झौता गलत गर्ने अनि जनता झुक्याउन व्याख्यात्मक घोषणा गरेको स्पष्ट पारे। 

एमालेबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा किरण पौडेल र प्रदेशसभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर १मा रामप्रसाद अमागाई र निर्वाचन क्षेत्र नम्बर २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार