काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ। नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए।
उनले भने, बिहान १०/११ बजेतिर हाम्रो संसदीय दलको बैठक बस्छ। त्यही बैठकले सरकार गठनबारे निर्णय लिन्छ होला।’
ठाकुर–महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ। उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ। यसअघि ठाकु र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति गरेको थियो।
ओली नेतृत्वको सरकारमा जाने घोषणा यसअघि नै ठाकुर–महतो पक्षले गरिसकेको छ। आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो। यो विषयमा सहमति भए ठाकुर–महतोले उठाउँदै आएका माग सम्बोधन हुन्छन्। यता, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।