काठमाडाैँ – प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ। मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो।
बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जवरा संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।
राष्ट्रपति भण्डारीले पठाएको पत्र पढेर सुनाउँदै उनले भने,‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।’
त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ।
नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ। सबै दलका संसदीय दलका नेताहरुले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूचि रहेको छ।
एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् भने पुस ११ गते ८ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो।
प्रधानमन्त्री दाहालले भोली मंगलबार संसदमा विश्वासको मत लिनेछन्। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षको रूपमा रहेको छ।
प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा नेपाली काँग्रेसले दावी गरेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलगायतका दलहरुसँग गठबन्धन गरी आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए।