विराटनगर: जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश नं. १ को प्रदेशसभामा नामांकनको विषय टुङ्गो नलागेसम्म उक्त निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नामांकरण भएपश्चात् पनि असहमत पक्ष (विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्था) बाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य बनाई राख्न उक्त निर्देशन जारी गरिएको लेखिएको छ ।
प्रशासन कार्यालयले विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरवर मिति २०७९।११।१७ गते दिउँसो ३:०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस भेला न्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) वमोजिम निषेध गरिएको जनाएको छ ।
मोरङको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्वारा जारी विज्ञप्तिमा आदेशको उलंघन गर्नेलाई प्रचलित कानून वमोजिम कारवाही गरिने समेत प्रष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको सुचना ।