काठमाडौं: निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै भोली (बुधबार)देखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको छ ।
आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचनका लागि आयोगले तयारी थालेको छ।
तनहुँ- १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ ।
रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन-२ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।





