विराटनगर: कोशी प्रदेशको नामकरणको विरोधमा विराटनगरमा दोस्रोपटक आन्दोलन भएको छ । विराटनगरमा कोशी प्रदेश पुनः नामांकन सघर्ष समितिले गरेको आन्दोलनमा करिब १ दर्जन घाइते भएका छन्।
आन्दोलनकारीले जबर्जस्ति प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।
प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हाने पछि माहोल तनावग्रस्त बनेको हो । प्रहरीले शान्तिपुर्ण आन्दोलन गर्न सहजीकरण गरेपनि आन्दोलनकारीहरु झडप थालेका थिए । उक्त झडपमा परी तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएका छन् ।
यता आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ । विराटनगरस्थित बिग होटलमा प्रदेश सभा सदस्यहरूको बैठक भएको थाहा पाएपछि आन्दोलनकारीहरू त्यही पुगेर नाराबाजी गर्न थालेका थिए। उक्त क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।
झडप नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यासका साथै पानीको फोहोरासमेत प्रहार गरेको थियो। आन्दोलनकारीहरूले प्रदेश सांसद बसेको होटलमा ढुंगामुढा गरेका थिए। उक्त क्रममा होटलमा क्षति पुगेको छ। विराटनगरको बिग होटेलमा सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला गरेका थिए।
प्रदर्शनकारीहरू सोही होटलअगाडि पुगेपछि झडप शुरू भएको थियो। प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।
५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।