राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफ्नो बयान फेरेका छन् । उनले उपनिर्वाचनमा पार्टीका तीनवटै क्षेत्रका उम्मेदवारलाई हराउने योजना बनाएर अडियो बाहिर ल्याइएको बताएका छन् ।
तर, अडियो वास्तविक नभएको उनले दाबी गरे । रास्वपाको बुधबार आयोजित केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् ।
उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् । ‘जसले पनि बनाउन सकिने अडियो हो । मैले बोलेका भ्वाइसहरु अर्को तरिकाले बनाउन पनि सकिन्छ’, उनले भने, ‘मेरो कुराहरु जे आएको छ, त्यसमा खेद प्रकट गर्दछु ।’