काठमाडौं: सोमबार मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपबारे अध्ययन गर्न सरकारले काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।
पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक÷एक जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
यता उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिए । छानबिन समितिले दिने प्रतिवेदनका आधारमा मन्त्रालय अघि बढ्ने उनले बताए ।
सरकारले यसअघि तराईबाट पैदलै काठमाडौँ आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपुरो भएको भन्दै पुनः यो समूह आएर आन्दोलन थालेको थियो ।
उनीहरुले सरकारसँग छबुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमबार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठ जना र पीडिततर्फ २० जना घाइते भएका काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।