काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार पार्टी पदाधिकारीसँग छलफल आह्वान गरेका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टी पदाधिकारीलाई सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएका छन्।
साँझ पाँच बजे बोलाइएको अनौपचारिक बैठकमा सरकारको प्रभावकारिता र नीति कार्यक्रमबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले पनि उनले डाकेको बैठक अनौपचारिक भएको जानकारी दिएको छ।
माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी रहेका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले पार्टीको औपचारिक बैठक भएको भए पार्टी मुख्यालय पेरिसडाँडामै बस्थ्यो तर प्रचण्डले अनौपचारिक छलफल आह्वान गरेको बताए।
उनका अनुसार सबै पदाधिकारीलाई पनि बोलाइएको छैन। प्रधानमन्त्रीले सरकारको प्रभावकारिता, नीति–कार्यक्रम, बजेट आदि बारे छलफल गर्न खोजेको तिमिल्सिनाको भनाई छ।