सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ ? भनी अर्थमन्त्री डा. प्रकाश शरण महतसँग प्रश्न समेत गरे।
उनले भने, ‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसद्मा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो। म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईले बजेटमा कसरी समावेश गर्नु हुन्छ ?
सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औँल्याए।