२० असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको आरोप लगाएका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन एक जना भारतीय नागरिक पटक–पटक दिल्ली गएको भन्ने प्रचण्डको अभिव्यक्ति अक्षम्य भएको समेत महासचिव पोखरेलको टिप्पणी छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्नै महासचिव पोखरेलले प्रचण्डको उक्त अभिव्यक्ति सत्ता र शक्तिका लागि जे पनि गर्छन् भन्ने शृङ्खलाको हदैसम्मको नकचरोपन भएको गम्भीर आरोप लगाएका हुन्।
नेपालको प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्य रुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो भन्दै महासचिव पोखरेलले जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य भएकाले यस विषयमा प्रतिनिधि सभाका सदस्यहरूको ध्यान गम्भीर रूपमा जानुपर्ने बताएका छन् ।