सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी छिन् ।
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री शर्माले प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी हुन् ।
उनले सरकार गठन भए देखिनै सुशासनको पक्षमा दृढता पूर्वक उभिएकाले कतिपयको
टाउको दुखाई भएको तर्क गरिन् । उनले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन् ।
मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उल्लेख गरिन् । नागरिकता सम्बन्धी विषयमा पनि अनावश्यक रुपमा सरकारलाई विवादमा ल्याउने प्रयत्न भएको उल्लेख गर्दै उनले नेपालीलाई नागरिकता प्रदान गर्न र विदेशीलाई नागरिकता दिनबाट रोक्न सरकार गम्भीर रहेको बताइन् ।
उनले सङ्घीय निजामती ऐन र सङ्घीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि जानकारी दिइन् ।