थप चार दललाई गठबन्धनमा ल्याउने प्रयास सफल हाेला ?

6.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

चार दलीय नयाँ गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहालले साना दलहरूलाई पनि सामेल गर्न पहल थालेका छन् । संघीय सरकारका लागि चार दलको गणित सहज भएपनि प्रदेशको गणितमा निर्णायक हुने साना दलहरूलाई गठबन्धनमा सामेल गराउनैपर्ने दबादमा उनी छन् । 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा एमाले ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट गरी १४२ सिटसहित नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रतिनिधिसभामा बहुमतका लागि प्रधानमन्त्री दाहाललाई १३८ मत आवश्यक पर्छ । जसका लागि अहिलेको चारदलीय गठबन्धन पर्याप्त छ ।

११ महिनादेखि कांग्रेससहितको आठ दलीय गठबन्धनबाट प्रधानमन्त्री रहेका दाहालले सोमबार कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको साथ लिएका छन् ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि संवाद थालेका छन् । गठबन्धनका अन्य नेताहरूले पनि यी दलसँग संवाद गरिरहेका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवासमै पुगेर भेट गरेका छन् । प्रतिनिधिसभामा एकीकृत समाजवादीको १० सिट छ ।

त्यस्तै, जनमतको ६, नागरिक उन्मुक्तिको ४ र लोसपाको ४ सिट छ । एमाले महासचिव शंकर पोखरेलले साना दलहरुलाई पनि साथ लिएर अघि बढ्न चाहेको बताए ।

नेताहरुका अनुसार मन्त्रालय बाँडफाँटमा सहमति भए एकीकृत समाजवादी सरकारमा आउने लगभग सहमति जुटिसकेको छ ।  

प्रधानमन्त्री दाहालले सोमबारमात्रै वामपन्थी एकताका लागि आफूले फेरि एकपटक प्रयास गरेको बताएका थिए । प्रदेश सरकार गठन गर्ने सन्दर्भमा सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएका छन् । त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपासमेत प्रदेशमा निर्णायक अवस्थामा छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सकारात्मक रहेको जनाइसकेका छन् । तर दुवै दलले आफ्नो प्रभाव रहेका प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार